‘पत्रकारले सूचना र समाचार प्रवाह गर्दा लैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनुपर्छ’

  • पोखरा न्यूज
  • २०८० फागुन २५
‘पत्रकारले सूचना र समाचार प्रवाह गर्दा लैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनुपर्छ’

पोखरा । पोखरामा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लैङ्गिकताको सवालमा मिडियाको भूमिका विषयक संवाद भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की, सञ्चारिका समूह गण्डकी प्रदेश र इन्सेक गण्डकी तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

गण्डकी प्रदेश सभाका उपसभामुख विनाकुमारी थापामगरले समाज परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले पत्रकारले सूचना र समाचार प्रवाह गर्दा लैङ्गिक सम्वेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले दिवस र अभियानमा मात्र नभई पत्रकारले ३ सय ६५ दिन नै सजकताका साथ महिलाका विषयका समाचारलाई प्राथमिकता दिन आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले महिलाका सवालमा विभिन्न नीतिहरु निर्माण भएपनि कार्यान्वयन गर्ने स्थानमा महिलाको उपस्थिति नहुँदा यी नीति नियम कागजमै सीमित रहेको गुनासो गरिन् ।

उनले जबसम्म निर्णायक तहमा महिलाको प्रतिनिधित्व रहँदैन तवसम्म यस्ता नीतिनियमले सार्थकता नपाउने जिकिर गरिन् ।

सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले महिलाका मुद्दा राष्ट्रिय मुद्दा भएकोले यसप्रति हरेक निकायले सजकता अपनाउनुपर्ने खाँचो औंल्याइन् ।

प्रेस काउन्सिलका केन्द्रीय सदस्य दुर्गा भण्डारीले समाचारमा लैङ्गिक संवेदनशीलताका विषयलाई कसरी सम्प्रेषण गर्ने र यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा सहजीकरण गरेकी थिइन् ।

साथै इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले गण्डकी प्रदेशमा मानव अधिकारको चुनौती र सवालका बारेमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीषमगर, प्रेस युनियन कास्कीका उपाध्यक्ष ज्योती हमाल, सञ्चारिका समूह गण्डकीका सचिव कविता घर्तीमगर लगायतले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस