पोखरा । पोखरा महानगरपालिका-२२ स्थित पुम्दीकोटमा अवस्थित प्रसिद्ध विशाल महादेव मूर्तिको दर्शनका लागि एकै दिनमा १० हजार बढी श्रद्धालु भक्तजन पुगेका छन् ।
महाशिवरात्री पर्वका अवसरमा पोखरा तथा आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा भूमेश्वर (महादेव) को पूजाआजाका लागि भक्तजनको भीड लागेको हो ।
महाशिवरात्रि पर्वको अवसरमा बिहानदेखि दर्शनार्थी र पर्यटक महादेव मूर्ति परिसरमा जम्मा भएको र यो यसवर्षको सबैभन्दा बढी दर्शनार्थी आएको दिन भएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
दक्षिण दिशातर्फ फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्तिको दर्शन तथा दूध चढाउनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । श्रद्धालु भक्तजनहरुले विशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय आठ शिव लिङ्गमा दूध चढाएका छन् ।
पुम्दीकोट पछिल्लो समयदेखि पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट १३ किमी दूरीमा रहेको विशाल महादेवको मूर्तिसँगै यहाँबाट पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।
भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो । विभिन्न पर्वबाहेक पनि दैनिक यहाँ स्वदेश तथा विदेशबाट पर्यटक पुग्ने गरेका छन् ।
यसैगरी महाशिवरात्रीका अवसरमा आज पोखराका अन्य विभिन्न शिव मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । विन्ध्यवासिनी मन्दिर, केदारेश्र लगायतका मन्दिरमा भक्तजनले पूजाअर्चना तथा दूध चढाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution