फेवाताल क्षेत्रमा अवैध गतिविधि गरेको भन्दै खतिवडाको ट्रक नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि गरेको भन्दै माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक नियन्त्रणमा लिएको छ ।

यस्ता कार्य नगर्न पटक-पटक आग्रह गर्दासमेत अटेर गरेपछि बाध्य भएर ट्रक नियन्त्रणमा लिइएको महानगरपालिलकाले जनाएको छ ।

पोखरा-१८ सेदीमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग१ख ८६८७ नं.को ट्रक महानगरीय प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमासमेत पटकपटक प्रयोग गर्दै आएको महानगरको आरोप छ ।

उनको यो ट्रक महानगर प्रहरीले कैयौँ पटक नियन्त्रणमा लिएको थियो । अब उपरान्त अवैध कार्य नगर्ने सर्तनामा गरी उनले महानगरको आर्थिक ऐन अनुसार जरिवाना तिरेर फिर्ता लैजाने गरेका थिए ।

फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्न/नगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा प्राविधिक नापजाँचको काम गरिरहेको महानगरपालिकाले जनाएको छ ।

यसअघि फेवाताल कै चार किल्ला भित्रको क्षेत्रमा माटो पुर्ने अर्का एक जनालाई महानगरपालिकाले रु.१० हजार जरिवाना गरेको छ ।

यता, व्यवसायी युवराज खतिवडाले आफूले नियमसंगत ढंगले नै काम गर्दै आएको दावी गरेका छन् । उनले आफूले काम गरिरहेको स्थान फेवातालको मापदण्डभित्र नपर्ने जिकिर गरेका छन् ।

खतिवडाले सिंगो महानगरपालिका आफूविरुद्ध लागेको भन्दै उनले आपत्ति जनाउँदै आएका छन् ।

उनले भन्दै आएका छन्, ‘महानगरपालिका मै घर ठड्यार बसेकालाई महानगरले देख्दैन, एउटा व्यवसायी कानूनसंगत ढंगले काम गर्दा अनावश्यक दुःख दिने काम भयो ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button