ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार काका भतिजाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार ८ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

मृतक दुवै नाताले काका भतिजा हुन् ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

ट्रक चालक इटहरी-२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button