पाेखरामा दृष्टिविहीन विद्यार्थीलाई रेडियो प्रस्तोता तथा कम्प्युटर तालिम

  • पोखरा न्यूज
  • २०८० फागुन २७
पाेखरामा दृष्टिविहीन विद्यार्थीलाई रेडियो प्रस्तोता तथा कम्प्युटर तालिम

पोखरा । नेत्रहीन विद्यार्थी फाउण्डेसन पोखराद्वारा आयोजित रेडियो प्रस्तोता तथा कम्प्युटर तालिम सकिएको छ । दृष्टिविहीन विद्यार्थीलाई लक्षित गर्दै पोखरामा पाँच हप्तासम्म सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कास्कीसहित ८ जिल्लाका २० जना सहभागी थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नका लागि निरन्तर अभ्यास गर्न आग्रह गरे ।

श्रेष्ठले भने, ‘तपाईहरुको काउण्टडाउन अहिलेबाटै सुरु भयो, हामीसँग स्रोत होइन सोंचको अभाव छ, टिमस्प्रिटलाई ख्याल गर्दै एउटा स्तरीय रेडियो म्यागजिन प्रोग्राम प्रोडक्सन गर्न सके ७७ जिल्लाका रेडियोले प्रशारण गर्न सक्छ ।’

नेपाल नेत्रहीन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहीनको वैकल्पिक आँखा सेतो छडी भएजस्तै तालिमले हौसला बढाउने विश्वास व्यक्त गरे ।

दृष्टिविहीन चिकित्सक डा. शरद कोइरालाले तालिमले सम्बन्धित विषयवस्तुमा मार्ग निर्देश गर्ने बताए । उनले तालिमपछि आफ्नो गन्तव्यको ढोका खुल्ने भन्दै सिकेका सीपमार्फत लक्ष्यमा सफल हुने गरी आगामी यात्रा तय गर्न सुझाव दिए ।

कार्यक्रम संयोजक शिवलाल धितालले तालिम इतिहासमा लिपिवद्ध हुने भन्दै सहभागीको सक्रियताबाट आफू हर्षित भएको बताए । उनले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सञ्चारकर्मी अनिषा श्रेष्ठ, नोभा इन्स्टिच्यूडका सञ्चालक सवी शेरचन, पत्रकार विष्णु गौतम, संस्थाका कोषाध्यक्ष रवीना सुवेदी, कम्प्युटर प्रशिक्षक दीपक अधिकारी लगायतले दृष्टिविहीनको वृत्तिविकास हुने खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

यस्तै, प्रशिक्षार्थी शेरजंग गुरुङ, सजना गुरुङ, मनिषा पोखरेलले तालिमले आत्मविश्वास बढेको र निर्धक्कसँग बोल्न सक्षम बनाएको बताए । बेसिक लेभलको कम्प्युटर तालिमपश्चात अब आफूहरुलाई एड्भान्स लेभलको तालिमको सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रम संयोजक धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अध्यक्ष विन्दु कोइराला सुवेदीले गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस