आज शेर्पा समुदायकाे ग्याल्पो ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

पोखरा । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार २१५१ मनाउन लागेका हुन् ।

ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षचाँही पुरुष काठे ड्रागनको वर्ष हो ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button