पाेखरा । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो ।
पोखरा-९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ ।
भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताए । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताए ।
पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाए । उनले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गरे ।
उनले भने, ‘महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ । पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ ।’
पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution