राष्ट्रियसभाको अध्यक्षका लागि आज मतदान

  • पोखरा न्यूज
  • २०८० फागुन २९
राष्ट्रियसभाको अध्यक्षका लागि आज मतदान

पाेखरा। राष्ट्रियसभाको नयाँ अध्यक्षका लागि आज मतदान हुँदैछ ।

संसद सचिवालयले सोमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

संसद सचिवालयका अनुसार बिहान ११ः०९ बजे निर्वाचन प्रकिया सुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहाल र प्रतिपक्षीबाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता, प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना (कांग्रेस) तथा समर्थकमा किरणबाबु श्रेष्ठ (कांग्रेस र शेखरकुमार सिंह (लोसपा) रहेका छन् ।

राष्ट्रियसभामा पहिलो दल माओवादीका एक मनोनीत र उपाध्यक्षसहित १८ सांसद छन् । एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि रहेका छन् । यो आँकडाअनुसार ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रिय सभा अध्यक्षको चुनाव जित्ने पक्का छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस