मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताए ।
“जोमसोम-कागबेनी-मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुङबुक गुफा सुनसान छ,” उनले भने, “मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुङबुक गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ ।”
गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अङ्ग आकृति देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृति गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ । हिउँदयाममा झरनाको पानी जम्छ ।
गुफाभित्र बौद्ध धर्मावलम्बीका लामाले तपस्या गर्ने ठाउँ छ । जोमसोम-कागबेनी-मुक्तिनाथ सडकअन्तर्गत एक्लेभट्टीस्थित कालीगण्डकी नदीको मोटरेबल पुलदेखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुङबुक गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ ।
फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दुःख कलात्मक आकृति देखेर भुलाउँछ । गुफाभित्रै पकाएर खान सकिने भाँडाकुँडा पनि छन् । औँसी र पूर्णिमाका दिन लुङबुक गुफा दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासीले बताएका छन् ।
फल्याक गाउँदेखि लुङबुक गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पुर्याउने तयारी गरेको वडाध्यक्ष गुरुङले बताए । गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution