पोखराका पत्रकारद्वय श्रेष्ठ र पौडेल सम्मानित

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’बाट पोखराका दुई सञ्चारकर्मी सम्मानित भएका छन् ।

आज यहाँ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार दीपेन्द्र श्रेष्ठलाई रु एक लाख एक हजार एक सय ११ सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तै दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । प्रधानमन्त्री दाहालले दिवङ्गत पौडेलका परिवारजनलाई रु एक लाख एक हजार एक सय ११ सहित सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पत्रकारद्वय श्रेष्ठ र पौडेलले पोखराबाट नेपाली पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति सरकार सधैं प्रतिबद्ध रहेको उल्लेख गरे ।

“वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्रीले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”

प्रधानमन्त्रीले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताए । वर्तमान विश्वमा सूचना प्रविधि निर्णायक शक्तिका रुपमा देखा परेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारले मिडिया कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए । राज्यको उपेक्षामा मिडिया क्षेत्र परेको उल्लेख गर्दै उनले आमसञ्चार प्रतिष्ठान गठन गर्न गरिएको पटक-पटकको माग सुनुवाइ नभएको गुनासो गरे ।

महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले उक्त सम्मान कोष २०५२ सालमा स्थापना भएको जानकारी दिइन् ।
दिवङ्गत प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उनका परिवारजनले सो अक्षयकोष स्थापना गरेका हुन् ।

विसं २०७९ मा सो सम्मान प्राप्त गर्ने श्रेष्ठ नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष एवं एभरेष्ट एमएएमका कार्यकारी निर्देशक छन् ।

यस्तै २०८० सालको सम्मान प्राप्त गर्ने दिवङ्गत पौडेल महासङ्घको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष थिए । महासङ्घको केन्द्रीय सदस्य रहेको अवस्थामा पौडेलको गत वर्ष विमान दुर्घटनामा परि निधन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button