काहुँडाँडाको आगो केही मत्थर, अग्नीरेखा बनाएर बस्ती जोगाइयो

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडाको सामुदायिक वनमा लागेको आगो केही मत्थर भएको छ । राति ११:३० बजे यो समाचार तयार पार्दा आगो सुरुआती ८ः३० बजेको भन्दा केही मत्थर भएको वडाध्यक्ष प्रेम कर्माचार्यले बताए ।

सुरुआती चरणमा वस्ती निकै जोखिममा थियो तर अहिले जोखिम निकै कम भएको उनले बताए । एक किसिमले भन्ने हो भने अग्नीरेखा बनाइएपछि बस्ती सुरक्षित भएको उनको भनाइ छ ।

उनका अनुसार आगो वस्तीतिर आउन नदिन करिब दुई सय सुरक्षाकर्मीले विभिन्न तरिका अपनाएका छन् र त्यसमा स्थानीयले साथ दिएका छन् ।

आगो वस्तीमा आउनसक्ने जोखिमलाई ध्यानमा राख्दै दुई वटा दमकल तयारी अवस्थामा राखिएको छ । तर रातको समय र जंगलसम्म पुग्ने सडक नहुँदा आगो निभाउन प्रयास गरिएको छैन ।

आगलागीका कारण जंगलको ठूलो भूभाग सखाप भइसकेको छ । उनले भने, ‘जंगल निकै घना छ र लामो खडेरीका कारण निकै सुख्खा छ । जसका कारणले पनि आगो धेरै फैलिएको हो ।’

वडाध्यक्ष कर्माचार्यका अनुसार काहुँ धरहरा पछाडिपट्टिको जंगल केही दिन अघि आगलागी भएर सखाप भइसकेको छ ।

आगलागी भएको वरपरका क्षेत्रमा धुँवा फैलिएका कारण स्वास फर्न अफ्ठ्यारो भएको उनी बताउँछन् ।

वन उपभोक्ता समिति अध्यक्ष कुमार क्षेत्रीका अनुसार आगो वस्तीमा आउन नदिन अग्नीरेखा बनाइसकिएको छ । अब आगो सीमित क्षेत्रमा मात्रै रहने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button