वेगनास तालमा ड्रागन बोट दौड प्रतियोगिता

पोखरा । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता गरिने भएको छ ।

फागु पूर्णिमाको अवसर पारेर यही चैत ११ र १२ गते होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, पोखरा महानगरपालिका र ड्रागन बोट सङ्घ गण्डकीले बेगनासतालमा प्रतियोगिता गर्न लागेका हुन् ।

प्रतियोगितामा १२-१६ समूहले सहभागिता जनाउने बेगनास ताल किनारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ड्रागन बोट सङ्घ गण्डकीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए ।

बेलनास तालमा ड्रागन बोट दौड प्रतियोगितासँगै लेखनाथ क्षेत्रका सात सालमा पाइने माछाको प्रदर्शन, स्थानीय वेशभूषा तथा झाँकी प्रदर्शन, नेपाल-चीन सम्बन्ध झल्कने वस्तु एवं परिकार, पर्यटकीय स्थानको प्रचारप्रसार, मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम गरिने जानकारी होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले दिए ।

प्रतियोगिता सम्पन्न गर्न रु ४५ लाख खर्च हुने र रु ४० लाख सहयोग जुटेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले रु २० लाख र बाँकी रकम विभिन्न सङ्घसंस्थाबाट जुटाइने जानकारी कँडेलले दिए ।

सात तालको बगैँचा सहर लेखनाथका तालमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या न्यून हुँदै गएपछि  बेगनास तालमा यस्तो प्रतियोगिता गरी पर्यटक प्रवर्द्धन गर्न लागिएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी पूरा भएको जानकारी आयोजक संस्थाले दिएका छन् ।

ड्रागन बोट दौड प्रतियोगिता पाँच सय र दुई सय मिटर दूरीमा खेलाइने छ । प्रतियोगितामा प्रथम हुनेलाई रु तीन लाखसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिने छभने द्वितीय रु दुई लाख, तृतीय एक लाख र सान्त्वना रु ५० हजारसहित सम्मान पत्रद्वारा पुरस्कृत हुने छन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख नवीन पोखरेलले खेललाई पर्यटनसँग जोड्न सकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै पर्यटन बोर्डले बेगनास र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न यस वर्ष रु ४५ लाख छुट्याएको जानकारी दिए ।

यस क्षेत्रका बासिन्दाले जति धेरै पर्यटन प्रवर्द्धनका गतिविधि बढायो त्यति नै धेरै पर्यटन आउने र आर्थिक चलायमान हुने विश्वास पोखरेलले दिलाए ।

पाेखरा-३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न व्यवस्थित पार्क, आधुनिक शौचालय, पर्यटकलाई सहजै रुपमा आफ्ना गतिविधि र डुङ्गा शयर गर्ने व्यवस्था मिलाइने बताए ।

बेगनास तालमा तीन सय ३१ डुङ्गा छन् भने तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ ।

प्रकृतिले सिँगारेको यो ताल यहाँको मुख्य आकर्षण हो । धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ । ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।

बेगनास नजिकै रुपा, दिपाङ, खास्टे, गुँदे, न्यूरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास ताल पुग्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button