पोखरामा तेस्रो स्टार्स समर क्याम्प हुने

पोखरा । पोखरामा तेस्रो संस्करणको स्टार्स समर क्याम्प हुने भएको छ । वार्षिक परीक्षापश्चात् फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालले कार्यक्रम आयोजना गरेका हन् ।

बालबालिकामा सामाजिक सीप हस्तान्तरण गरी उनीहरुमा व्यक्तित्व एवं नेतृत्व विकास गराउने उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रम चैत १९ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने, नयाँ साथीसँग घुलमिल हुने र रमाउने अवसर प्रदान गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ (जसु) ले बताइन् ।

‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाइका बारेमा बुझन् पाउनेछन्, साथै शिक्षामूलक ज्ञान लिँदै साथीबिच आत्मीयता तथा आत्मविश्वास बढाउँदै आत्मनिर्भर बन्न सक्नेछन्’, उनले भनिन् ।

क्याम्पमा हुने नयाँ प्रतिभा पहिचान, सामूहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतका गतिविधिले आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने उनको विश्वास छ ।

क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सका लागि तेक्वान्दो, कराँते, स्वीमिङसहित अन्य रमाइला इन्डोर तथा आउटडोर खेल खेल्न पाउनेछन् ।

स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सीपका साथै विभिन्न पर्यटकीय ठाउँ घुम्ने अवसरसमेत उनीहरुलाई मिल्नेछ ।

कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको छ । नेपाली तथा विदेशी प्रशिक्षकले रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गर्ने बताइन्छ ।

स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यको संरक्षण र प्रवर्द्धनका लागि क्रियाशील संस्था हो ।

लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातिको मौलिक भेषभूषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा संस्थाले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

क्याम्प पोखरा लेकसाइड खहरेको स्ट्रिट नम्बर ‘२१ ए’ स्थित प्यासन नेपालमा सञ्चालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button