सूर्यदर्शनका बचतकर्ता गुहार माग्दै राज्य व्यवस्था तथा सुशासन समितिमा

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले आफूहरुको बचत रकम फिर्ताको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।

बचत रकम फिर्ता गर्ने प्रबन्ध मिलाइदिन आग्रह गर्दै सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले बिहीबार समिति सभापति रामहरि खतिवडालाई निवेदन बुझाएका हुन् ।

सहकारीले १८ हजार सात सय बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने भएपनि विगत दुई वर्षयता कसैले पनि फिर्ता पाउन नसकेको पीडितले निवेदनमा उल्लेख गरेका छन् ।

सहकारीको रकम अपचलन गरेर फरार भएका सहकारी सञ्चालक गितेन्द्रबाबु राई (जिबी राई) लाई पक्राउ गरी कानूनी कारबाही गर्नसमेत माग गरिएको छ ।

सहकारीको करोडौं रकम ग्यालेक्सी टिभिमा लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बसेको उनीहरुको गुनासो छ ।

पीडितहरूले सरकारीको रकम अपचलन गर्ने १९ जनाविरुद्ध किटानी जाहेरी दिएकोमा हालसम्म पाँच जना मात्र पक्राउ परेका छन् । बाँकी १४ हालसम्म पक्राउ पर्न नसकेकोमा पनि उनीहरुको गुनासो छ ।

सहकारीमा समस्या आएयता चार पटक सरकार परिवर्तन भएपनि बचतकर्ताका पीडा कसैले नसुनेको भन्दै उनीहरुले जिबी राईलाई लुकाइराख्नुको कारण माग गरेका छन् ।

वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा पूरक जाहेरी दिइएको भए पनि छानबिन नभएकोप्रति पीडितको गुनासो गरेका छन्

पीडितको निवेदन बुझ्दै समिति सभापति खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास व्यक्त गरे ।

उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैं सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने बताए ।

सभापति खतिवडाले निवेदनमाथि उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने प्रतिवद्धता जनाए ।

सूर्यदर्शन बचतपीडित संघर्ष समितिले रास्वपा सभापति रवि लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन र अन्य १५ कम्पनीविरुद्ध कास्की प्रहरीमा पूरक जाहेरी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button