थकाली समुदायमा ‘तोरनल्ह’ पर्व सुरु

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरनल्ह (फागुपूर्णिमा) पर्व सुरु भएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब १० हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाका अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवासमेत रहेका गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले जानकारी दिइन् ।

“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उनले भनिन्, “आफन्तलाई बोलाएर मिठा–मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ ।

तोरनल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरू आफ्नो जन्मथलो फर्किएका छन् । तोरनल्हमा थकाली समुदायले घर सिङ्गारपटार गरेका छन् ।

तोरन ल्हपर्वका अवसरमा थकाली समुदायका पुरुषहरू परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् भने महिलाहरू मौलिक वेशभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाटा गरेर तोरनल्ह मनाउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button