मुलुकको ओरालो यात्रा रोक्न माओवादीसँग सहकार्य : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको ओरालो यात्रा रोक्न मात्रै माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।

एमाले कास्कीको ११औं जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार नयाँ गठबन्धनको नभई नयाँ समीकरण मात्रै रहेको जिकिर गरे ।

‘हामीले यो सरकारलाई नयाँ समीकरण भनेका छौं । यो बामपन्थी गठबन्धन पनि होइन । एमाले समाजवादी मोर्चामा पनि छैन,’ उनले भने । यही सहकार्यले मिसन-८४ लाई बलियो हुने उनले बताए ।

‘यो सहकार्यले मिसन-८४ लाई बलियो बनाउँछ भन्ने जगमा नयाँ यात्रा आरम्भ गरेका छौं,’ उनले भने, ‘हाम्राविरुद्ध घेराबन्दीलाई तोडेर बाहिर आएका छौं । नयाँ समीकरणमा लागेका छौं । निरास बनेका जनतामा आशा जगाउँछौं ।’

प्रधानमन्त्रीले कांग्रेससँगको समीकरणबाट जनअपेक्षा पूरा गर्न नसक्ने भनेपछि मात्रै एमालेले सहकार्य गरेको उनले स्पष्ट पारे । महासचिव पोखरेलले कांग्रेसले सधैँ परिवर्तन संस्थागत गर्नेक्रममा घात गर्ने गरेको आरोपसमेत लगाए ।

अहिलेको संसदीय व्यवस्थामा चाहेजस्तो नेतृत्व पाउन सम्भव नरहेको उनले बताए । उनले कुनै पनि देशमा नयाँ पार्टीहरुले देशको नेतृत्व दिन नसकेको भन्दै पुरानै पार्टीहरुको बलियो निरन्तरता आवश्यक हुने बताए ।

उनले विश्वमा कतै पनि नयाँ पार्टीले जनताको नेतृत्व गर्न नसकेको भन्दै नेपालमा पनि पुराना पार्टीले केही गरेनन् भन्ने भाष्य गलत भएको बताए ।

‘नेपालमा धेरै राजनीतिक दलहरु होइन, बलिया राजनीतिक दलहरुको खाँचो छ । नेपाललाई नयाँ प्रयोगशाला बनाउने होइन, पुराना दललाई नै बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्दछ,’ उनले थपे ।

पोखरेलले भने, ‘एमाले जनताको रोजाइको पहिलो पार्टी हो । नयाँ-नयाँ शक्तिका नाममा, स्वतन्त्रका नाममा, अनेक नाममा जनमतलाई विभाजित गर्ने र पार्टीहरुलाई बलियो बनाउनुपर्ने ठाउँमा विभाजित गर्न खोज्ने ? यसरी देशमा स्थायित्व आउँदैन ।’

आजसम्म चल्ने अधिवेशनले नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसका लागि प्यानल मार्फत नै निर्वाचन हुने सम्भावना छ । अधिवेशनले १ सय २२ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बताए । त्यसमा १२ जना पछि मनोनित हुने छन् ।

अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिएका छन् । कास्कीका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट उनीहरु छानिएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button