सिमलका रुख र गिद्धका झुण्ड

-विश्व सिग्देल

मुस्किलले दुई हात चौडाइका डहरले पोखराको पूर्वी छेउदेखि पश्चिम छेऊ, उत्तरदेखि दक्षिण छेउ जोडिएका हुन्थे । पोखराभरी लामा छोटा असंख्य डहरको सञ्जाल छिचोलेर गन्तव्यमा पुग्नु महाभारतको युद्ध जस्तै कठिन र दुरुह हुन्थ्यो । अगाडिबाट लामालामा सिंग भएका भैंसी तथा परालका भारी बोकेका किसान आए भने दायाँबायाँका अग्ला बाण्डा उक्लेर बाटो छाडी दिनु पर्थ्यो । झण्डै चार हात चाक्ला जगबाट पिरामिड शैलीमा ढुंगा र फुको माटो मिलाएर बनाएका बाण्डामाथि हावासमेत नपस्ने गरी डाले घाँसका रुख प्राकृतिकरुपमै उम्रिएर हुर्किएका हुन्थे । यी रुखले बालीलाई हावाहुरी, आँधी र असिना पानीको मेहरो (मेघमाला) लाई रोकेर बचाउँथे भने घाँसपात, दाउरा, काठपातको गर्जोसमेत टार्दथे । यिनै बाण्डाका प्वाल स्याल, फ्याउरा, चौघडा, सर्प, न्याउरीमुसा लगायत दर्जनौं साना जीवका बासस्थान हुन्थे भने माथिका रुख जंगल र बस्तीका मध्यवर्ती क्षेत्रमा रमाउने ढिकुर, डांग्रे, जुरेला, काग, ठेउवा, भंगेरा, बट्टाई आदि पचासौं चराचुरुंगीको बासस्थान हुन्थे, यिनका फल आहार हुन्थे ।

पोखरा आसपासका पहाड उक्लेर उपत्यका हेर्दा तराइको घना जंगल जस्तै देखिन्थ्यो । बाण्डामा हुर्कने दबदबे, कल्से, गिंदरी, फलेदा लगायतका रुखमध्ये धरहरा झैं उभिएका अनगिन्ती विशाल सिमलका रुखको उचाइबाट हेर्दा पोखरा सिमलै सिमलको जंगल जस्तो लाग्थ्यो । दर्जनौं प्रजातिका बथानका बथान गिद्ध यिनै सिमलको रुखमा बस्थे भने अण्डा कोरल्ने, चल्ला हुर्काउने कामसमेत यिनै सिमलका रुखका हाँगामा गुँंड बनाएर गर्थे । मरेका गाईवस्तु खान सयौं गिद्धका झुण्ड सिनो वरिपरी जम्मा हुन्थे । उनीहरुको कहींकतै सिनो रहेको जानकारी दिने सूचना संयन्त्र गज्जबको हुन्थ्यो । ठूलै भैंसीको सिनोसमेत गिद्धले क्षणभरमै सफाचट गरेर वस्ती सफा र स्वस्थ राख्न मद्धत गर्थे । गिद्ध छुनु त के गिद्धको हावासम्मले भेट्यो भने अगति परिन्छ, चिसो पानीमा नुहाएर स्वस्तिशान्ति गर्नुपर्छ भन्ने त्रास देखाएर बा आमाले बच्चालाई अलग राख्थे । अरु डर भन्दा पनि चिसो पानीमा नुहाउन पर्ने डरले बच्चालाई दुहाई पार्थ्यो । यसरी बासस्थानको मनग्ये सुविधा र गिद्धप्रतिको नकारात्मक धारणा पैदा गरेर मानिसले गिद्धको वंशवृद्धि र संरक्षणमा सहयोग पुर्याउँथे ।

पोखराको निर्मलपोखरीस्थित जंगलमा सिमलको रुखमा बसेका गिद्धहरु । चित्रः राजु क्षेत्री

सलाईको काँटी बनाउन सिमलको काठ अतिउत्तम हुने हुँदा तात्कालीन सरकारले पोखरामा सलाई कारखाना खोल्यो । हालको पोखरा सभागृह वरपर करिब दुई सय रोपनीको क्षेत्रफलमा भिक्टोरियन शैलीमा बनेको सुन्दर कारखाना भवन र विशाल परिसर हालसम्म जोगाउन सकेको भए पोखराको १ नम्वर पर्यटकीय गन्तव्य बन्ने रहेछ । युरोप, अमेरिकामा पुराना कारखाना जलविद्युत योजनालाई पर्यटकीय गतिविधिको क्षेत्र बनाएर कमाई गरेको देख्दा बल्ल थाह भयो । पञ्चायतकालमा त्यो जमिन भागबिलो लगाएर सके भने भवन भत्काएर काठपात र ईटा बेचेर खाए । हुनत त्यो जग्गा गणतन्त्रसम्म रहेको भए मिलोमतोमै एकै गाँसमा झ्वाम हुने रहेछ । अहिले थाह भयो । यसरी पोखरामा सिमलमाथि बञ्चरो प्रहारको कर्म आरम्भ भयो ।

अन्धाधुन्ध शहरीकरणले टुक्र्याएर बेच्दै जाँदा जमिनको आकार सानो हुँदै गयो । जमिनको मूल्य अचाक्ली बढेपछि मानिसले चाक्ला बाण्डा भत्काएर चार इञ्चका ब्लकका पर्खाल लगाए । हजारौं चरा उभयचर जीवका बासस्थान रुख काटेर जग्गा चाक्लो बनाए । त्यही समयदेखि पोखराका दुर्दिन सुरु भए । रैथाने बनस्पति, रैथाने चरा, यावत जीव बासस्थान र आहारको अभावमा लोप भए । सिमलमाथि सलाई कारखाना र बाण्डाको ध्वस्तकर्मले गिद्ध पनि दुर्लभ भए । पशुलाई दिन थालिएको एण्टीबायोटिक, खेतीमा प्रयोग हुन थालेको किटनाशक औषधिको प्रभावको भूमिका त छँदैछ ।

पोखराको दक्षिणी भेक भरतपोखरी, निर्मलपोखरीको दक्षिणी फेदीमा अझै सिमला रुख उल्लेख्य रहेछन् । यसैगरी वडा नं. १४ का केही क्षेत्रमा समेत सिमलका रुख भेटिन्छन् । सिमललाई गण्डकी प्रदेशको धरोहर घोषणा गरी साल खयर झैं संरक्षित वृक्षको रुपमा कानून बनाएरै काम गर्ने हो भने सिमल र गिद्ध दुबैको एकसाथ संरक्षण गर्न सकिने रहेछ । गिद्ध पोखराको पर्यटनको अमूल्य निधि हुन सक्छ ।

जति गुमाए पनि अझै केही गर्न सकिन्छ भन्ने भरतपोखरी, निर्मलपोखरी, कृस्तीका ती क्षेत्रको घुमाईमा सिमलका अनगिन्ती रुख र रुखमाथि बसेका गिद्धका झुण्डले प्रष्टै बनायो । मेरो त हृदयनै पुलकित भयो । अब जे जति शेष छ, यसैलाई बिज बनाएर अघि बढौं । पोखरा पर्यटनको राजधानी भनिरहँदा यिनै गिद्ध पनि पर्यटकका संख्या बढाउने र बसाई लब्म्याउने माध्यम हुन सक्छन् जागरुक बनौं ।

(विश्व सिक्देलको फेसबुकबाट साभार)

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button