हेमजा आलु महोत्सवको तयारी तीव्र

  • पोखरा न्यूज
  • २०८० चैत्र ११
हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा । पोखरा-२५ हेमजामा आयोजनामा हुने १२औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र बनाइएको छ ।

कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ विष्णुपादुका क्लबले यही चैत २५ देखि वैशाख ५ गतेसम्म महोत्सव आयोजना गरेको छ ।

महोत्सवको तयारी सम्बन्धमा आइतबार मूल आयोजक समिति र उपसमितिबिच छलफल भएको महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल भएको थियो । चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने श्रेष्ठले जानकारी दिए ।

महोत्सवको तयारीस्वरुप आमा समूह तथा केही संघसंस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । विभिन्न स्थानमा गेट बनाउने, सार्वजनिक बसमा ब्यानर राख्ने काम जारी रहेको श्रेष्ठले बताए ।

क्लबले ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सवमा आलु तथा ताजा तरकारी प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबिच अन्तरक्रिया, विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्र प्रदर्शन, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्यव्यंग्य एवं लाइभ पप कन्सर्ट हुनेछन् । यसवर्ष महोत्सवमा ५० टन आलु बिक्री हुने आयोजकको अनुमान छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस