अब बागलुङ-पोखरा विद्युतीय माइक्रोबस, भाडादर कति ?

बागलुङ । बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।

सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालिले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

रु एक करोड १० लाख लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउछन् । एउटा गाडीको मूल्य रु ५५ लाख रहेको उनको भनाइ छ ।

‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने उनी बताउछन् । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताए ।

उनले भने, “प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा-बागलुङ विद्युतीय माइक्रोबस सेवा सञ्चालन गरेका छौँ, सुरुआती चरणमा दुई बसबाट सेवा सुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ, यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पुर्‍याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।”

हाललाई बागलुङदेखि पोखरासम्मका लागि रु चार सय ५० भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ ।

अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताए । जिल्लामा अधिकांश सवारीसाधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुले सास्ती भोग्ने गरेको जनाउँदै उनले त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विद्युतीय बसको सेवा शुभारम्भ गरेका थिए ।

उनले समयानुकूल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरि यातायात सेवा प्रालिले पहिलो पटक यो सेवा विस्तार गरेकामा धन्यवाद दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button