असिनाले व्यावसायिक सुन्तलाखेतीमा क्षति

पर्वत । वर्षासँगै असिना परेपछि जलजला गाउँपालिका-१ बाँसखर्कमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको असिनापानीले भर्खरै फूल लागेका सुन्तलामा क्षति पुगेको हो ।

असिनाले सुन्तलाका फुल र मुन्टा भारेको किसान जगतबहादुर खत्रीले बताए । “असिनाका कारण ६० प्रतिशतभन्दा बढी बोटमा असर पुगेको छ”, उनले भने । उनले यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड भित्र्याएका बाँसखर्कका किसान असिनाका कारण आगामी वर्ष उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यहाँका झण्डै दुई सय घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा छन् । त्यसैगरी जलजलाकै लेखफाँट र सालिजामा आलु, जौ, तोरी र पाक्न थालेको गहुँबाली र किबी खेतीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् ।

जिल्लाको महाशिला गाउँपालिकामा पनि असिनाले क्षति पुर्याएको छ । स्थानीय जीवन उच्चै ठकुरीका अनुसार किसानलाई वर्षे बाली लगाउन सहज भए पनि हिउँदेबाली भने नष्ट गरेको बताए । उनले पाक्ने बेलाको गुहँ, जौ, तोरी र व्यावसायिक तरकारीखेती गरेका किसानलाई ठूलो क्षति पुगेको बताए ।

कृषि ज्ञान केन्द्र पर्वतले जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले बालीनालीमा क्षति पुगेको जनाएको छ । कार्यालयका बागबानी विकास अधिकृत शङ्कर पौडेलका अनुसार सुन्तला, किबिलगायतका फलफूल र गहुँ, जौ, तोरी, आलुबालीमा असिनाले क्षति पुर्याएको बताए । अहिले विभिन्न पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन भइरहेको उनको भनाइ रहेको छ ।

पाक्ने बेलाको गहुँ, तोरी असिनाले झार्दा किसानलाई बढी मार परेको उनको भनाइ छ । क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरिसकेपछि किसानलाई आवश्यक राहतका लागि पहल गरिने कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button