पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताएका छन् । गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीद्वारा पोखरामा संयुक्त रुपमा आयोजित ‘नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा’ विषयक अन्तक्रियामा उनले स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने बताए ।
“स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ । योग, ध्यान, साधना र व्यायामले व्यक्तिमा सकारात्मक सोचको विकासमा प्रेरणा मिल्छ”, उनले भने, “मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पाटो नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य क्षेत्रको विकासलाई समग्र देशकै विकास र समृद्धिसँग जोड्नुपर्छ । नागरिक स्वस्थ भए मात्रै मुलुक स्वस्थ बन्न सक्छ ।”
योग, ध्यान, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश प्रमुख भट्टले आफू ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको उदाहरण प्रस्तुत गरे ।
जैविक विविधताका कारण नेपाल आयुर्वेदिक औषधिको विकासका लागि निकै उपयोगी क्षेत्र भएको उनले बताए ।
देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवर्द्धन गरिनुपर्नेमा जोड दिँदै उनले आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिनुपर्ने आवश्यकता औँल्याए ।
“मानव सभ्यतालाई जीवन्त राख्न र स्वस्थ एवं समृद्ध समाजको कल्पना तब मात्र साकार पार्न सकिन्छ जब राष्ट्रको हरेक नागरिक निरोगी हुन्छन्”, उनले भने ।
नेपालमा आयुर्वेदिक औषधोपचारलाई प्रवर्द्धन गर्नका लागि यस्ता आयुर्वेद सेवा सम्बन्धी अन्तक्रिया एवं योजना तयारसम्बन्धी छलफलले टेवा पुग्ने उनको भनाइ छ ।
गण्डकी आयुर्वेद औषधालय कास्कीका प्रमुख डा.कुमार कासुला, जिल्ला आरोग्य नागरिक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल लगायतले जीवनशैली एवं आहार-विहारका माध्यमबाट स्वास्थ्यलाई राम्रो पार्न सकिनेमा जोड दिए ।
उक्त अवसरमा स्वास्थ्य जीवन शैली, नसर्ने रोगको रोकथामका उपाय, आयुर्वेद र आयुर्वेद संस्था आदि बारे प्रकाश पारिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution