
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट पोखराको प्रमुख पर्यटकीयस्थल महेन्द्र गुफा र चमेरे गुफा पुगेका छन् ।
प्रदेश प्रमुखलाई गुफा पर्यटकीय विकास समिति संयोजक गुरूदत्त भट्टराई, समिति सदस्य सचिव शिशिर पौडेल, सदस्य सुशील बस्नेत, युवा नेता अर्जुन अधिकारीलगायतले स्वागत गरेका थिए ।
सो अवसरमा प्रदेश प्रमुखले आफूले करिब तीन दशक अघि पनि यी दुई गुफाको अवलोकन गरेको बताए । उनले अहिले गुफा क्षेत्रको विकासले निकै ठूलो फड्को मारेको दावी गरे ।
गुफाको पहिचान नमेटिने गरी संरक्षण गरिनुपर्नेमा जाेड दिँदै उनले निर्माणाधीन संरचनाले थप आकर्षण थप्ने विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुखले पोखरा पर्यटकीय राजधानी भइसकेको अवस्थामा पर्यटकीय स्थलको थप विकासका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा विन्ध्यवासिनी मावि विद्यालय व्यवस्थापन समिति ज्येष्ठ सदस्य एवं गुफा पर्यटकीय विकास समितिका संयोजक गुरूदत्त भट्टराईले विकासको योजना र आगामी कार्यक्रमका बारे प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।
भट्टराईले गुरूयोजना अनुसारका बाँकी कामका लागि आवश्यक सहयोगका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराए ।





