जिल्ला सहकारी संघको रक्तदान कार्यक्रम, १२० युनिट रगत संकलन

पोखरा । ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय २० युनिट रगत संकलन भएको छ ।

‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवसअन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी स्वनियमन तथा नीति र विधि सम्मतरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा सहकारी समिति अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बराललगायतले बोलेका थिए ।

राष्ट्रिय सहकारी दिवस मूल आयोजक समितिका संयोजक एवं संघकी अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छवि लामिछानेले स्वागत र महासचिव दीपक बास्तोलाले सञ्चालन गरेको कार्यक्रम संयोजक एवं संघकी उपाध्यक्ष अम्बिका गौतमले जानकारी दिइन् ।

सहकारी दिवसअन्तर्गत संघले शनिबार साइकल र्‍याली आयोजना गरेको थियो । र्‍यालीमा विभिन्न १८ संघसंस्थाका ५२ जना सहभागी भएको कार्यक्रम संयोजक एवं संघका सञ्चालक धनराज पुरीले जानकारी दिए ।

संयोजक पुरीका अनुसार संघको कार्यालयबाट सुरु भएको साइकल र्‍याली बिरौटाचोक, पृथ्वीचोक, अमरसिंह चोक, महेन्द्रपुल, सभागृहचोक, हल्लनचोक, लेकसाइड हुँदै पुनः जिल्ला सहकारी संघकै प्राङ्गणमा आएर समापन भएको थियो ।

कार्यक्रम उद्घाटन मूल आयोजक समिति संयोजक सावित्रा कोइराला र पोखरा सहकारी समिति अध्यक्ष रविरमण तिवारीले गरेका थिए ।

सहकारी दिवसअन्तर्गत चैत १९ मा सरसफाई, २० गते अन्तरक्रिया र दीप प्रज्ज्वलन कार्यक्रम हुने मूल संयोजक कोइरालाले जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रम अघि पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाठ सभागृहचोकसम्म प्रभातफेरी कार्यक्रम हुनेछ ।

यस्तै, सहभागृहमा विभिन्न सहकारीद्वारा उत्पादित सामग्रीकाे प्रदर्शनीसमेत हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button