‘मोटरसाइकल जोगाउन खोज्दा भिरबाट खस्यो जीप’

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन्।

परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन्। वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।

घर जानका लागि चारैजना चढेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको  छ ।

पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ ।  सोनिसा जीपको अघिल्लो सिट थिइन्। ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो ।

“सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो”, सोनिसाले दुर्घटनाबारे बताइन्।

घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ ।

“दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याएका हुन्”, उनले भनिन् । सो जीप दुर्घटनामा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।

घटनामा पोखरा-२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका-४ की ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा-२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये ६ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button