|फाइल तस्बिर
पोखरा । पोखरा-२५ हेमजाको पहिचान हो आलु । यहाँको कुल १२ हजार पाँच सय हेक्टरमध्ये पाँच सय ९० हेक्टरमा आलु खेती हुँदै आइएको छ । केही जग्गा भाडामा दिएका छन् । भाडामा दिएको जग्गामा किसानले आलु उत्पादनसँगै अन्य व्यावसायिक कृषिजन्य उत्पादन गर्दै आएका छन् ।
सिँचाइ सुविधा, मौसमी सिँचाइको भरमा आलु खेती गरिँदै आएको छ । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक आलुखेतीमा आबद्ध छन् । यहाँको नाम लिने बित्तिकै आलुको सम्झना आउँछ ।
हेमजामा विशेषगरी एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल सेतो र डेजिरे नामक आलु लगाइन्छ । हेमजाको आलु विषादीरहित भन्नै विश्वास उपभोक्तामा छ । यहाँको आलु निकै स्वादिलो र छिटो पाक्छ भन्ने बुझाइ छ ।
विषादीरहित, स्वादिलो र छिटो पाक्ने भएकाले पनि हेम्जाको आलु उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । आलुमा प्रांगारिक मल मात्र प्रयोग गरिँदै आएको किसानको दावी छ ।
हेमजाको आलु पोखरासहित देशका प्रमुख सहरमा पुग्छन् । हेमजाको नीलो आलुको स्वाद एक पटक चाख्नेले कहिल्यै भुल्न सक्दैनन् ।
डेढ दशक अघिसम्म हेमजाका किसानलाई आलु बजार पुर्याउन निकै सकस थियो । किसानलाई पोखराका बजार डुलाएरै विक्री गर्नुपर्ने बाध्यता थियो ।
तर अहिले अवस्था फेरिएको छ । अहिले किसान बजार होइन व्यापारी र आलुका ग्राहक किसानको घर र बारीमा पुग्छन् । कतिपय आलु त खनेर नसक्दै बुकिङ भइसक्छ । हेमजामा आलु महोत्सव सञ्चालन हुन थालेपछि किसानको अवस्था फेरिएको हो । त्यसक्षेत्रमा उत्पादित अधिकांश आलु महोत्सवबाटै विक्री हुन्छ । केही आलु बाँकी रहेमा पनि किसानलाई चिन्ता छैन । आलु खोज्दै ग्राहक घरमै पुग्छन् ।
विष्णुपादुका क्लबले १२ वर्षदेखि राष्ट्रिय हेमजा आलु महोत्सव आयोजना गर्दै आएको छ र यसपटक पनि गर्दैछ । यही चैत २५ देखि महोत्सव सुरु हुँदैछ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको क्लब अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
यस पटक महोत्सवबाट ८० टन आलु विक्री गर्ने लक्ष्य छ । प्रतिकेजी ३८ देखि ४० रुपैयाँका बीचमा आलु विक्री गर्ने आयोजकको तयारी छ । अध्यक्ष श्रेष्ठका अनुसार गतवर्ष पाँच करोड रुपैयाँको आलु महोत्सवबाट विक्री भएको थियो । महोत्सवलाई यहाँका किसानले ठूलो पर्वका रुपमा लिने गरेका छन् ।
महोत्सवमा आलु तथा ताजा तरकारी प्रदर्शनी गरिनेछ भने आलुको पहाड नै निर्माण गर्नुका साथै आलुका विभिन्न परिकार प्रदर्शन गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
माटो र बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शन, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्र प्रदर्शन, कृषक सम्मान तथा पुरस्कार प्रदान, रत्यौली गीत प्रतियोगिता, हास्यव्यंग्य एवं लाइभ पप कन्सर्ट पनि महोत्सवमा रहने क्लबका महासचिव वसन्तकुमार श्रेष्ठ बताउँछन् । महोत्सवमार्फत बचत हुने रकम बहुउद्देश्यीय भवन निर्माण गर्ने लक्ष्य क्लबको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution