आज ६७ औं राष्ट्रिय सहकारी दिवस, पोखरामा पनि विभिन्न कार्यक्रम

पोखरा । आज ६७ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केहीले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु गरिरहेका छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा पोखरामा आज प्रभातफेरी गरिएको छ । सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीको आयोजनामा पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सभागृहचोकसम्म प्रभातफेरी गरिएको हो ।

आज सभागृहमा सहकारीसम्बन्धी अन्तरक्रिया हुँदैछ । यस अवसरमा पोखरामै साइकल र्याली, रक्तदान, सरसफाइ लगायतका कार्यक्रम भइसकेको ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीका संयोजक सावित्रा कोइरालाले जानकारी दिइन् ।

सहकारी विभागको पछिल्लो तथ्याङक अनुसार हाल मुलुकभर करिब ३० हजार सहकारीहरु छन् । आज भन्दा ६७ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ ।

विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button