गण्डकीबाट दुई सय ९९ जुवाडे पक्राउ, देशभरबाट दुई करोड ६३ लाख असुल

  • पोखरा न्यूज
  • २०८० चैत्र २०
गण्डकीबाट दुई सय ९९ जुवाडे पक्राउ, देशभरबाट दुई करोड ६३ लाख असुल

|फाइल तस्विर

पोखरा । चालु आर्थिक वर्षको आठ महिनामा गण्डकी प्रदेशबाट दुई सय ९९ जना जुवाडे पक्राउ परेका हुन् ।

गण्डकीसँगै नेपाल प्रहरीले देशका विभिन्न स्थानमा जुवातास खेल्ने एक हजार आठ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट सात सय ७९, कोशी प्रदेशबाट एक सय १५, बागमती प्रदेशबाट एक सय १३, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट एक सय ४ र सुदूरपश्चिम प्रदेशबाट तीन सय १३ जना रहेका छन् ।

उक्त अवधिमा प्रहरीले उनीहरूको साथबाट रु दुई करोड ६३ लाख ४५ हजार चार सय १७ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट पाँच सय ५४ बुक तास र दुई सय ५० थान कौडा बरामद गरेको छ ।

“जुवा खेलेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, प्रवक्ता ढकालले भने ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

सैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधानसमेत छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस