डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्धामा दोषी ठहर, दुई वर्ष कैद सजाय

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् ।

उनलाई मंगलबार विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिबानाको फैसला गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगद र सुन बरामद गरेपछि उनलाई अनुसन्धान लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले सो बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैँसँग राखेको अख्तियारको भनाइ थियो । त्यस क्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएका थिए ।

केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जीसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।

अभियोजनमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरका जीसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button