गण्डकीका मुख्यमन्त्रीद्वारा राजीनामा, नयाँ सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रीय सरकारमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई हटाएका थिए । त्यसपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

संसदमा विश्वासको मत लिने समय सकिनै लाग्दा उनले राजीनामा दिएका हुन् । चैत २३ गतेभित्र उनले विश्वासको मत लिनुपर्ने थियो ।

उनको पक्षमा विश्वासको मत पाउने आधार नदेखिए पछि उनले राजीनामा दिएर ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने बाटो रोजेका हुन् ।

यता, मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिएसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । प्रदेश प्रमुख डिल्लीराम भट्टले सात दिन अर्थात चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । यो समयभित्रमा प्रदेश सभामा रहेका सांसदले बहुमत सिद्ध गरेर मुख्यमन्त्रीमा दावी गर्न सक्नेछन् ।

तर यो समयभित्र कुनै पनि सांसदले मुख्यमन्त्रीमा दावी गर्न नसके संविधानको धारा १६८ उपधारा (३) अनुसार प्रक्रिया अघि बढेनछ । यो प्रक्रियाअनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेता पाण्डे नै मुख्यमन्त्री नियुक्त हुनेछन् ।

यो प्रक्रिया अनुसार नेपाली कांग्रेसका पाण्डे नै नियुक्त हुनेछन् । पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । यस्तै, एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् ।

जुन संख्या सरकार बनाउन पर्याप्त छैन । दुई सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ । एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले पछिल्लो समय आफू स्वतन्त्र सांसदको हैसियतमा रहेको दावी गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button