पोखरामा नाटक ‘स्मृति बिक्री केन्द्र’ मञ्चन हुँदै

पोखरा । रेनाँसा थिएटरको प्रस्तुतिमा पोखरामा नयाँ नाटक ‘स्मृति बिक्री केन्द्र’ मञ्चन हुने भएको छ । वैशाख १ देखि १५ दिनसम्म साे नाटक मञ्चन हुने निर्देशक ध्रुव पौडेलले जानकारी दिए ।

साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । नाटकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् ।

नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिकजसो चमत्कार भइरहेका छन् । निकट भविष्यमा हामीले नाटकमा उठाएको विषयजस्तो चमत्कार नहोला भन्न पनि सकिन्न’, उनले भने ।

पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ । शनिबार तथा सार्वजनिक बिदाको दिनमा दुई शो तथा अन्य दिन एक शो नाटक मञ्चन हुने रेनाँसा थिएटरका संस्थापक एमडी काफ्लेले जानकारी दिए ।

नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभुप्रसाद भुसाल, जनक पराजुली, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रे, उमा पुन, शितला अधिकारी, प्रियङ्का खड्का, कविता घर्तीमगर, सुस्मिता काप्री, सन्देश भण्डारी लगायतले अभिनय गरेका छन् ।

यो नाटकबाट पोखराका दर्शकले नयाँ स्वाद प्राप्त गर्ने रेनेँसा थिएटरले विश्वास व्यक्त गरेको छ । ‘पोखरामा धेरै नाटक मञ्चन भए, दर्शकले मन पराउनुभएको छ’, निर्देशक पौडेलले भने, ‘पौराणिक कथामा आधारित, लोक नाटक लगायत अन्य धेरै विषयमा मञ्चन भएका छन्, तर अहिले हामीले विल्कुल फरक विषयमा प्रस्तुति दिन खोजेका छौँ ।’

नाटक मञ्चनका लागि अहिले अभ्यास र सेट निर्माणको काम धमाधम भईरहेको थिएटरले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button