नगरपालिकाले बुझायो बक्यौता, सडक बत्ती अझै नजोडिने

पर्वत । लामो समयदेखि महसुल नबुझाएकाले सडक बत्तीको लाइन काटिएपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो ।

नगरपालिकाले बक्यौतामध्ये रु ५० लाख भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युतको लाइन काटिएको हो ।

हालसम्मको रु २४ लाख भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको लेखाप्रमुख शर्माले जानकारी दिए ।

विद्युत् प्राधिकरणको वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले रु ७४ लाख बढी भुक्तानी दिन बाँकी थियोे ।

नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।

केन्द्र हरेक बत्तीको ‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स विद्युत् प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिए । नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उनको भनाइ छ ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए । बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उनले जानकारी दिए ।

सडक बत्तीको लाइन काटिएपछि अहिले कुश्माबजार र आसपासका वडा अन्धकार बनेका छन् । रातिको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई सातादेखि अन्धकार बनेका हुन् ।

प्राधिकरणको पर्वत वितरण केन्द्रका लेखाप्रमुख शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागिरहेको बताए । नगरपालिका, सरकारी कार्यालय, सामुदायिक सङ्घसंस्था वा निजी घरहरुमा रहेको बक्यौता रकम असुली गर्ने अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button