पोखरामा एमाले अध्यक्ष ओली र राप्रपा नेता गुरुङबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गरेका छन् ।
नेकपा एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्न पोखरा आएका अध्यक्ष ओलीले राप्रपाका गण्डकी प्रदेशका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेट गरेका हुन् ।
भेटमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले जानकारी दिए ।
चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले-माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल बनेको छ ।
राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले-माओवादी गठबन्धन सो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले गण्डकी प्रदेशको समसामयिक राजनीति सम्बन्धमा छलफल गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले बताए ।
सरकार गठनमा सहयोगका सम्बन्धमा राप्रपाको केन्द्रीय समितिसँग सहकार्य गरेर आएमा आफूहरू सहयोगका लागि तयार रहने गुरुङले बताए ।
पार्टीको निर्देशन बाहिर जान नसकिने कुरा अध्यक्ष ओलीसँग स्पष्टरुपमा जानकारी गराइएको उनले जानकारी दिए ।
साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई सदस्य छन् भने स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button