मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेका छन् ।

आज दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्रीको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारी यसअघि २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका थिए । उनले २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्री सम्हालेका थिए ।

यसअघि नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । उनले अबको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनांगेलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

यता, नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button