गण्डकीका जिल्ला अस्पतालमा ओपिडी सेवा अब १२ घण्टा

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् ।

अस्पतालले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन् ।

त्यसअघि मुख्यमन्त्री अधिकारीले सहिद उद्यान र पुष्पलाल स्मृति उद्यामा पुगी सहिदको प्रतिमामा माल्यार्पण गरेका थिए ।

अधिकारी कास्की-१ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

नेकपा (एमाले) सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेको हो ।

कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ ।

मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button