आज तमु समुदायको ट्होटें पर्व मनाइँदै

पोखरां । आज चैत महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् । तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको दुई वटा मगंलबारमा ट्होटें मनाउँदै आएको हो ।

ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् ।

उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ट्होको अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

तमुधिँ नेपालले पोखरामा धूमधामका साथ ट्होटेँ पर्व मनाउने भएको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षमा झै यस वर्ष पनि बाजागाजा, झाँकीसहित पोखरा नयाँबजारबाट ¥याली निकालिने र सभागृहमा समारोह आयोजना गरिएको जानकारी दिए ।

उक्त समारोहमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहीन् भएकाले तमुहरुले तमुवान राज्य प्राप्तिको माग गर्दै आएका छन् । तमु धिँ नेपालको पहलमा कस्केली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार पोखरामा २०५२ सालदेखि सामूहिकरुमा ट्होटें मनाउँदै आएको हो ।

यसै पर्वको अवसरमा कास्कीका तीन स्थानीय तहले स्थानीय बिदा दिएका छन् । कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो ।

गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका हुन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेँको शुभकामनासमेत दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button