स्वर्ण जयन्ती मनाउँदै पोखरा जेसीज

पोखरा । पोखरा जेसीजले यस वर्ष स्वर्ण जयन्ती मनाउने भएको छ । २०३१ चैत ३० मा स्थापित पोखरा जेसीजले यस वर्ष विविध कार्यक्रम गरेर स्वर्ण जयन्ती मनाउने भएको हो ।

स्वर्ण जयन्ती मूल संयोजक सुवास सिग्देलले युवाको नेतृत्व विकाससँगै सामाजिक क्रियाकलापमा पोखरा जेसीज क्रियाशील रहेको बताए । सन् २००५ का अध्यक्षसमेत रहेका उनले वर्षभरि हुने कार्यक्रमबारे जानकारी गराए । पहिलो दिन यही ११ अप्रिल (२९ चैत) मा स्वर्ण जयन्तीको उद्घाटन समारोह हुनेछ ।

पोखरा रानीपौवास्थित जेसीज कार्यालयदेखि सुरु हुने र्‍याली रञ्जित इभेन्ट्स पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । सो अवसरमा संस्थापकहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान लगायत कार्यक्रम गरिनेछ । यस्तै, सोही दिन स्वर्ण जयन्ती स्तम्भ र झण्डोत्तलन हुनेछ ।

यस्तै, वर्षभरिमा अनुकूल समयमा जेसिआई नेपाल बिजनेस एकाडेमी, जेसिआई पोखरा एकेडेमी स्थापना, चौतारी निर्माण, प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता, बृहत्तर पोखरा सरसफाइ अभियान, गाला डीनर, पिएनपी/सेनेट मिट, मणिज्योति आधारभूत विद्यालय स्तरोन्नति, प्रकाशन, प्रवद्र्धन र सञ्चार लगायतको कार्यक्रम गर्ने तालिका समेटिएको छ । कार्यक्रमका लागि विभिन्न व्यक्तिलाई संयोजक, सल्लाहकार एवं सदस्य चयन गरिएको छ ।

विश्वमा सन् १९१५ अक्टोबर १३ मा गिसेनवियर र अन्य २२ युवा मिलेर वङ मेन्स प्रोगेसिभ सिभिक एसोसिएसन नामको संस्थापना भएको थियो । सोही दिनलाई विविवत् जेसीज संस्था स्थापनाको दिवसको रुपमा मनाइन थालिएको पाइन्छ ।

२०३१ फागुन ३ मा होटल याकमा जम्मा भएका २१ जना युवाको सामाजिक संस्था स्थापना गर्ने सोच अनुरुप केशवलाल श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।

पोखरा जेसीजको नाम विकलप्रसाद शेरचनले जुराएका थिए । पोखरामा पहिलो पल्ट रक्तदान कार्यक्रमको सुरुआत पोखरा जेसीजले नै गरेको बताइन्छ ।

पोखरा जेसीजका अनुसार सराङकोटमा सूर्यदर्शन टावर निर्माण गरेको जेसीजले पोखरा सभागृह, महेन्द्रपुल निर्माणमा पनि सहयोग गरेको छ ।

साथै स्वास्थ्य शिविर, युवालाई नेतृत्व तथा व्यक्तित्व विकासका तालिम, व्यवसाय प्रवद्र्धनका कार्य, जनप्रतिनिधिबीच ककस कार्यक्रम गर्दै आएको जनाएको जेसीजले जनाएको छ ।

आजभन्दा ३० वर्षअघि पोखरा जेसीजले मिस पोखरा आयोजना गरेको थियो । यद्यपि उक्त व्युटी पेजेन्ट बेलाबेलामा रोकिन पुगेकोमा यो वर्षदेखि निरन्तरता दिने पोखरा जेसीज वर्ष २०२४ का अध्यक्ष देवराज शर्माले बताए ।

पत्रकार सम्मेलनमा मीनाकुमारी थापाले जेसीजको आस्थापाठ वाचन गरेकी थिइन् भने स्वागत कार्यक्रम संयोजक शिव सुवेदी र सञ्चालन सचिव तिलक लामिछानेले गरे ।

हाल विश्वमा एक सय २० राष्ट्रभन्दा बढीमा जेसीज क्रियाशील छ । जेसीजअन्तर्गत विश्वलाई चार क्षेत्रमा विभाजित गरिएकोमा क्षेत्र ‘ए’ मा अफ्रिकाका राष्ट्रहरु पर्दछन् ।

‘बि’मा एसिया, अष्ट्रेलिया र प्यासिफिक राष्ट्रहरु पर्दछन् । क्षेत्र ‘सि’ मा उत्तरी अमेरिकी राष्ट्र, दक्षिण अमेरिका र मध्य अमेरिकी राष्ट्र तथा ‘डि’ मा यूरोप राष्ट्र पर्दछन् । अन्तर्राष्ट्रिय जेसीज उपाध्यक्षमा पोखराका हरिकृष्ण बास्तोला निर्वाचित भएकोमा पछिल्लो पुस्तामा राजु केसी निर्वाचित भएका थिए ।

नेपाल जेसीजको नेतृत्वमा पोखराले हालसम्म हरिकृष्ण बास्तोला, विकलप्रसाद शेरचन, राजु केसी र रवीन्द्र गुरुङलाई पाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button