पोखरामा मनाइयो ‘ट्होटें’

पोखरा । तमु समुदायको मौलिक पर्व ‘ट्होटें’ हर्षोल्लासका साथ मनाइएको छ । नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गणबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको ट्होटें पर्व पदयात्रा पोखरा सभागृह हलमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।

पदयात्रामा सहभागीले मौलिक नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले चर्खा, खर्क, भेडीगोठसमेत प्रदर्शन गरेका थिए । उनीहरु गुरुङ वेशभूषामा सजिएका थिए । सहभागीमध्ये कोही भूतप्रेत र राक्षश, कोही बुख्याचा भेषमा थिए । कोही भने विभिन्न जनावर, भूतप्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसोले रङ्गीबिरङ्गी थिए ।

औपचारिक समारोहमा पोखरा महानगर प्रमुख धनराज आचार्यले तमुको मौलिक चाडपर्वमध्ये ‘ट्होटें’ पर्वले सकारात्मक ऊर्जा पैदा हुने जनविश्वास रहेको बताए । गुरुङ जातिको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, वेशभूषाले पोखरा समृद्ध बनाउन ठूलो योगदान पुगेको उनको भनाइ छ ।

गुरुङ समुदायले आफ्नो मौलिकता पुस्तान्तरणमा ठूलो भूमिका खेलेको आचार्यले बताए । उनले भने, “भाषा, साहित्य, संस्कृति र मौलिकतालाई आजको पुस्ताले भोलिको पुस्तालाई देखाउन सकेन भने त्यो लोप हुँदै जान्छ ।” प्रमुख आचार्यले ट्होटेंसहित तमुहरुको भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, वेशभूषा जोगाउन महानगरले साथ दिने बताए ।

तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले गाउँबस्ती, संस्कार, संस्कृति विकास गर्ने क्रममा दुःख दिने शत्रुबैरीलाई गाउँबस्तीबाट हटाउन परापूर्वकालदेखि नै ट्होटें मनाउने गरिएको बताए । उनले भने, “ट्होटें तमु (गुरुङ) हरुको ऐतिहासिक पर्व हो । यो हाम्रो सभ्यता, सद्भाव र संस्कृतिका साथै प्रकृतिसँग जोडिएको छ ।”

गुरुङ समुदायले हरेक वर्षको दुई पटक ट्होटें मनाउँदै आएका छन् । साउन उद्यौली र चैतमा उभौलीका रुपमा यो पर्व मनाइने गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पोखरामा विसं २०५२ देखि व्यवस्थितरुपमा यो पर्व मनाउन थालिएको उनले बताए ।

कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोल्लासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको भनाइ छ । आज गुरुङ समुदय भएका अधिकांश गाउँमा यो पर्व मनाइएको उनले बताए ।

कास्कीसँगै गण्डकीका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले ट्होटें पर्व हर्षोल्लासका साथ मनाएका तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङले बताइन् ।

परापूर्वकालमा आफ्नो राज्यमा शत्रुको प्रवेश रोक लागाउने र आएकालाई लखेट्नका लागि ट्होटें खेल्ने प्रचालन रहेको अग्रज बताउँछन् । अहिले परिवर्तित समयानुसार एकताको सन्देशसहित ट्होटें पर्व मनाइएको महासचिव गुरुङले बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button