जैविक विविधताको संरक्षण सरकारको प्राथमिकता : मन्त्री सुडी

गण्डकी । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामासुरु कृषि जैविक विविधता विषयक अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा मन्त्री सुडीले जैविक विविधताका क्षेत्रमा देखिएका समस्याको चुनौती सामना गर्दै विभिन्न कार्यक्रमका साथ अघि बढेको बताए । जैविक विविधताको संरक्षणका लागि सरोकारवालाबीचको समन्वय जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि जैविक विविधता अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न तवरले प्रयास गरिरहेको बताइन् ।

स्वदेशी बाली संरक्षण, दिगो खेती प्रवर्द्धन र परम्परागत कृषि ज्ञानको संरक्षण गर्न स्थानीय समुदाय लक्षित कार्यक्रममा जोड दिइएको उनले बताइन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्घठनका नेपाल तथा भुटानका प्रतिनिधि केन शिमिजुले कृषि जैविक विविधतामा सङ्घठनको समर्पण र कृषि विविधतालाई प्रवर्द्धन गर्न नेपालजस्ता राष्ट्रलाई सहयोग गर्ने कुरामा जोड दिए ।

कृषि जैविक विविधता संरक्षण र उपयोगलाई बढावा दिनेलगायतका काममा भइरहेका प्रयासबारे उनले प्रकाश पारे ।

स्थानीय र विश्वव्यापी रूपमा कृषि जैविक विविधता बढाउन साना किसान, आदिवासी समूह र स्थानीय समुदायलाई दिगो वन र खेत व्यवस्थापनमा सशक्त बनाउन साझेदारसँगको सहकार्यबारे उनले चर्चा गरे ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले समुदायमा आधारित संरक्षण पहलमार्फत कृषि जैविक विविधता प्रवद्र्धन गर्न महासङ्घ क्रियाशील रहेको बताए ।

महासङ्घले किसानसँग नजिकबाट काम गरेको उहाँको भनाइ छ । सम्मेलनमा कृषि जैविक विविधता एवं यसको महत्व, कृषि जैविक विविधतालाई राम्रो वा नराम्रोको लागि संरक्षण र व्यवस्थापन गर्न नीति पारेको सहयोग, कृषि वन प्रणालीको परम्परागत ज्ञान र कृषि जैविक विविधता कायम राख्ने ज्ञान र असल अभ्यास आदानप्रदान, बीउ र खेती व्यवस्थापन प्रविधि, उद्यमी आविष्कारलगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवं अन्तरक्रियामा सहभागीले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौती, उत्कृष्ट अभ्यास आदिबारे छलफल गर्नेछन् ।

स्थानीयदेखि विश्वव्यापी वन तथा कृषि उत्पादक संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधि, अन्वेषक आदि सहभागी सम्मेलनमा विभिन्न २० देशका ७३ विदेशी र एक सयभन्दा बढी नेपाली प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

साना वन र कृषि उत्पादकको कृषि जैविक विविधतामा योगदानका साथै उनीहरूले कसरी आफ्ना स्रोतहरू दिगोरूपमा व्यवस्थापन र व्यावसायिक उपयोग गरिरहेका सम्बन्धमा पनि सम्मेलनमा छलफल गरिने छ ।

कार्यक्रमकै क्रममा पोखरामा कृषि जैविक विविधता व्यवस्थापनका नवीन उदाहरण खोज्दै क्षेत्र सहभागीलाई अध्ययन भ्रमण गराइने आयोजकले जनाएको छ ।

सम्मेलनको क्रममा प्रारम्भ गरिएका सहयोगी प्रयासले दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्ने र कृषि जैविक विविधता संरक्षणले प्रकृति संरक्षण, जीविकोपार्जन र विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button