|फाइल तस्बिर
पोखरा । पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिँदै प्राकृतिक र मानवीय अतिक्रमणमा परेको फेवा तालको संरक्षण गरौँ भन्ने मूल नाराका साथ पर्यटकीय राजधानी पोखरामा आजदेखि १९औँ संस्करणको ‘फेवा नववर्ष महोत्सव-२०८१’ सुरु हुँदैछ ।
होटेल संघ पोखराको आयोजनामा आजदेखि सुरु भइ वैशाख १ गतेसम्म पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडस्थित स्ट्रिट नम्बर १ देखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पूरा भएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धनसँगै नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामसाथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन विगत १८ वर्षदेखि संघले महोत्सव गर्दै आएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
यसअघि कोमागाने पार्कमा सञ्चालन गरिँदै आइएको महोत्सव गत वर्षदेखि पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर सडकमा आयोजना गरिँदै आइएको सुवेदीले बताए । महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिनेछन् ।
रेस्टुरेन्टसँगै खाना र अन्य गरी तीन सय स्टल सडकमा राखिने महोत्सवमा जाने पर्यटकले सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण, लाइभ ब्यान्ड, पञ्चेबाजा, गन्दर्भ गायनसँगै सडकमै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुतिसमेत हेर्न पाउनेछन् ।
महोत्सवअन्तर्गत अम्मट, सेन्टर प्वाइन्ट र ड्यामसाइडमा स्टल राखी विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसमेत महोत्सवले लिएको आयोजक संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।
महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय वेशभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरूको उजागर गर्दै प्राकृतिक सम्पदाको संरक्षण गर्नसमेत पहल गरिने उनको भनाइ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution