मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, व्यास र म्याग्देमा गरी एकतर्फी कूल २८ किलोमिटर र दुईतर्फी १५ किमी कालोपत्र गरिएको छ । अहिले कालोपत्रलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको उनले बताए ।

पूर्वी खण्डमा ४१ दशमलव सात किमी दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ ।

त्यसैगरी पश्चिम खण्डमा दुई लेनको गरी साढे सात किमी सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ड र नाला निर्माणलाई प्राथमिकता दिइएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

“पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा ढिलो काम सुरु गरेका कारण सोचेअनुरुप प्रगति हासिल गर्न नसकेको हो”, उनले भने, “पछिल्लो समय लक्ष्यअनुरुप निर्माण गर्न थालेपछि प्रगति बढ्न थालेको छ ।”

पहिरा खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने आयोजनाले जनाएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र भइरहेको छ ।

पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button