|फाइल तस्बिर
पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सीप विकासको तालिम लिने प्रवृत्ति कम भएका कारण यसलाई थप सुरक्षित र विश्वासिलो बनाउन चुनौतीपूर्ण रहेको बताएका छन् ।
स्वदेशमै उद्यम गर्ने प्रचलनको विकास नहुनु र अदक्षरूपमा विदेश पलायन हुँदा नेपाली कामदारले थुप्रै समस्याको सामना गर्नुपरेको उनको भनाइ थियो ।
वैदेशिक रोजगार विभाग इपिएस कोरीया शाखाले पोखरामा आयोजना गरेको कोरीयन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रममा आचार्यले यस्तो बताएका हुन् ।
‘पोखरा महानगरले प्रथमतः युवालाई वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै स्वउद्यममा लाग्न प्रोत्साहन गरिरहेको छ’, उनले भने, ‘युवा उद्यमशीलताको विकास गर्न स्टार्ट अप लगायतका अनुदान तथा साझेदारी कार्यक्रमसमेत सञ्चालन गरिरहेका छौँ ।’
आचार्यले भने, ‘यति गर्दा पनि युवाको विदेश पलायनलाई भने रोक्न सकिएको छैन । अहिले विदेश जाने कुरा एउटा संस्कार जस्तो बनेको छ ।’
इपिएसमार्फत कोरीया जाने नेपाली श्रमिकको अवस्था मध्यपूर्वका देशमा जानेको तुलनामा सन्तोषजनक रहेको भए पनि वैदेशिक रोजगारीका समस्याहरू भने विद्यमान रहेको उनले बताए ।
विदेशमा दुःखले आर्जन गरेको कमाइको कतिपय अवस्थामा दुरुपयोग हुने गरेको, पारिवारिक विचलन र विखण्डन हुने गरेको, श्रमिकले भनेको जस्तो काम नपाएको, सोँचे अनुसारको कमाई नहुँदा मानसिक विचलन आउने गरेको, अकल्पनीय दुर्घटनामा परी ज्यान गुमाउने लगायतका समस्याहरू अहिले भोग्न परिरहेको उनले बताए ।
वैदेशिक रोजगारी भन्दा स्वदेश मै उद्यमशील बन्ने/बनाउने वातावरणको सृजना गर्न सके मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनले बताए ।
महानगरका रोजगार संयोजक विष्णु दाहालले श्रमिकलाई परिवारको तर्फबाट दिइनुपर्ने आड, भरोसा र माया ममताका बारेमा छलफल केन्द्रित गरिएको बताए ।
कतिपय अवस्थामा विदेशमा रहेका श्रमिकलाई परिवारको तर्फबाट पनि कमाउनै पर्ने दबाब सृजना गरी तनावमा धकेल्ने गरिएको गुनासोका बिच कार्यक्रम गरिएको शाखाले जनाएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक विषय शिक्षक र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए ।
कार्यक्रममा शाखाकी निर्देशक मैयाँ कँडेलले इपिएस प्रक्रियाको बारेमा परिचयात्मक प्रस्तुति, दक्षिण कोरीयाका लागि पूर्वकाउन्सिलर रमा भट्टराईले इपिएस लक्षित वैदेशिक रोजगार बोर्डको भूमिकामा विषयमा इपिएस कोरीया भाषा परीक्षा प्रणालीको प्रक्रिया र निष्पक्षता बारेमा शाखाका अधिकृत कमलराज श्रेष्ठले प्रस्तुति राखेका थिए ।
शाखाले दोस्रो दिन इपिएसमार्फत कोरीयामा रहेका श्रमिकका परिवारजनसँग समन्वय तथा छलफल गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution