त्यागी र निष्ठावान राजनीतिज्ञको अवसान

पोखरा । नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेलको निधन भएको छ । अथक र अटल योद्धा, त्यागी, निष्ठावान राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित पौडेलको आज बिहान ८१ वर्षको उमेरमा निधन भएको हो ।

फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा-२२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थीकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । पौडेलका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

उनको आजै सेती नदी घाट (शान्ति वनबाटिकाको तल) अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि उनको पार्थिक शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने भएको छ । पौडेलको पार्थिव शरीर दिउँसो ३ः३० देखि ४ः३० सम्म पार्टी कार्यालमा श्रद्धाञ्जलीका लागि राखिने कास्की कांग्रेसले जनाएको छ ।

पौडेल प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएर बीपी र सुवर्णशम्शेरको उपस्थितिमा लीलाभक्त आचार्यलाई सभापति बनाउँदादेखि नै कांग्रेसमा लागेका थिए ।

प्रतिबन्धित कालमा पोखराको महेन्द्रपुल नजिकै पूर्वसभामुख तारानाथ रानाभाट प्रधानाध्यापक र आफू शिक्षक भएर युवा अवस्थामै प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा लागेका पौडेलले लामो समयसम्म त्यहि पेशा अंगालेका थिए कास्कीमा कांग्रेसका चर्चित नेता धीरबहादुर गुरुङलाई २०२६ सालमा सभापति बनाएर रानाभाटसँगै आफू पनि समितिको सदस्य भएका थिए ।

उनले तत्कालीन समयमा रानाभाटलाई सभापति, आफू उपसभापति र शुक्रराज शर्मालाई सचिव बनाएर राजनीतिलाई अघि बढाएका थिए । कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।

निष्ठाको राजनीतिमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका असली चेलाको रुपमा आफ्नो पहिचान कायम राख्न सफल पौडेल जीवनको उत्तारार्धमा पनि सक्रिय राजनीतिमै थिए ।

पौडेल आफूमा भएको राजनीतिक सोँच र उर्जामा कुनै कमि देखाउन चाहँदैनथे । युवा अवस्थामा मुलुकमा प्रजातन्त्रको स्थापना हुनुपर्छ, जनताले अधिकार पाएपछि मात्रै देश बन्छ भन्ने उत्कट चाहना बोकेर हिँड्थे उनी ।

बीपी, सुवर्ण, गणेशमान र किसुनजीको संस्कार र निष्ठाको राजनीतिबाट शिक्षित र दीक्षित भएका पौडेल अहिले पार्टीमा त्यो संस्कार र निष्ठाको खडेरी परेकोमा चिन्तित थिए ।

लामो समय निरन्तर राजनीतिमा खटिए पनि लाभको पदमा भने उनी पुगेनन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनले टिकट पाएका थिए । उनी एमालेकी विद्या भट्टराईसँग पराजित भएका थिए ।

पौडेलको निधनप्रति नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न इकाइका साथै समग्र कांग्रेसीजनले दुःख व्यक्त गरेका छन् । साथै उनीहरुले पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button