विक्रम् संवत् २०८१ सुरु, हर्षोल्लासका साथै मनाइँदै

पोखरा । विक्रम संवत्को पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष सुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

आजदेखि साठी संवत्सरमध्ये पिंगलनामको संवत्सर समाप्ति भएर कालयुक्तनामको संवत्सर सुरु भएको छ । आजदेखि श्रीशाके १९४६ पनि सुरु भएको छ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि स १९६१ देखि वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने चलन सुरु गरेका थिए । आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्टियसभा अध्यक्ष र विभिन्न राजनीतिक दलका नेताहरुले देश-विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button