नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।शुक्रबार मलेसियामाथि ५ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा शनिबार कतारलाई ३२ रनले पराजित गर्यो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २सय १० रन बनायो । नेपालले आक्रामक ब्याटिङ गर्दै दुई खेलाडीको अर्धशतकमा उक्त योगफल बनाएको हो । खेलमा आसिफ शेखको संयम तथा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमणमा नेपालले उक्त योगफल बनाएको हो ।

ऐरीले २१ बलमा अविजित रहँदै ६४ रन बनाए । उनी एक्लैले ७ छक्का हाने । दिपेन्द्रले एकै ओभरमा ६ छक्का  हानेर रेकर्ड राखे । दिपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

उनले १८ वर्षपछि यो कीर्तिमान राखेका हुन् । यसअघि सन् २००७ को एक दिवसीय विश्वकपमा दक्षिण अफ्रिकाका हर्सल गिब्सले नेदरल्यान्ड्सविरुद्ध र भारतका युवराज सिंहले टी-२० विश्वकपमा इङ्गल्याण्डविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यसअघि दिपेन्द्रले चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउने क्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । तर त्यो एकै ओभरमा भने सम्भव भएको थिएन ।

त्यस्तै आसिफ शेखले ४१ बलमा ५२ तथा मल्लले १८ बलमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए । जवाफमा कतारले ९ विकेटको क्षतिमा १ सय ७८ रन बनाउन सक्यो ।

कप्तान मुहम्मद तन्वीरले ३३ बलमा ६३ रन बनाएको इनिङ्समा अलराउन्डर दिपेन्द्रसँगै ललित राजवंशी र गुल्सन झाले समान २-२ विकेट लिए । कुशल र अविनाश बोहराले १-१ विकेट लिए ।

पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दा कतार भने हङकङसँग २६ रनले पराजित भएको थियो । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् ।

समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।  नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा १ सय ४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए ।

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए ।

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button