मुक्तिनाथ दर्शन गर्न गएका २९ जनाको मृत्यु

पोखरा । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोजराज पाण्डेका अनुसार आ.व.०७८-७९ मा छ जना, ०७९-०८० मा १२ जना र चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै भारतीय नागरिक २० जनाको ज्यान गएको छ । यस्तै, सात जना नेपाली, एक जना युक्रेन र एक जना थाइल्याण्डका नागरिकको लेक लागेर मृत्यु भएको हो ।

चालु आवको फागुनमा दुई जना र चैत महिनामा छ जनाको मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिए । अधिकांश ज्येष्ठ नागरिकको लेक लागेर मृत्यु भएको देखिएको उनको भनाइ छ । पछिल्लो तीन वर्षको अवधिमा २१ जना ६० वर्षभन्दा बढी उमेरका नागरिकको लेक लागेर ज्यान गएको छ ।

यस्तै, तीन जना ४०-५० वर्ष उमेरका, चार जना ५०-६० वर्ष उमेरका र दुई जना ३०-४० वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट स्वास्थ्य चौकीका सिनियर अहेब सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट माथिल्लो उचाइमा पुग्दा समस्या हुने गरेको छ ।

समुद्री सतहदेखि एक्कासि तीन हजार मिटरभन्दा माथिको उचाइमा पुग्दा ज्येष्ठ नागरिकलाई समस्या हुने र त्यसले मृत्युसम्म नै हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसार तल्लो क्षेत्रबाट आउनेहरूमध्ये ११ जनालाई मुक्तिनाथ मन्दिरमा आइपुग्दा लेक लागेको हो भने अरूलाई अन्यत्रै लेक लागेको देखिन्छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ट्राभल एजेन्सीसँग पनि समन्वय र सहकार्य गरेर पर्यटकलाई मौसमसँग घुलमिल हुने वातावरण बनाउन आग्रह गरिएको बताए ।

मुस्ताङकी स्थानीय श्रीमायाँ थकालीले जिल्लामा आइपुग्दा पर्यटकको निधन हुँदा दुःख लाग्ने बताए । उनले भने, ‘ट्राभललाई कुरा गर्ने र कडाइका साथ तल्लो क्षेत्रमा एक दिन स्टे गर्ने र मुक्तिनाथमा अर्को दिन स्टेका लागि व्यवस्था नगर्ने हो भने समस्या अझ बढ्न सक्ने देखिन्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button