म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ र बागलुङको काठेखोला गाउँपालिका-३ को सिमानामा आयोजित ‘बेलढुङ्गा-स्वर्गाश्रम पर्यटन उत्सव’ आज सम्पन्न भएको छ ।
हिमाल र सूर्योदयको दृश्यावलोकनका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा रहेको बेलढुङ्गा-स्वर्गाश्रम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर तीन दिनसम्म सञ्चलित उक्त उत्सव आज सम्पन्न भएको हो ।
बागलुङ धम्जाको बेलढुङ्गा सामुदायिक होमस्टे र म्याग्दी भकिम्लीको स्वर्गाश्रम व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको उत्सवमा मौलिक यानीमाया र सोरठी गीत, म्याराथन दौड र आमा समूहस्तरीय नृत्य प्रतियोगिता, स्थानीय कलाकारको गीत र नृत्य प्रस्तुतीलगायत कार्यक्रम गरिएको थियो ।
संस्कृतिको संरक्षण र प्रकृतिको प्रवर्द्धनमार्फत पर्यटक भित्र्याएर ग्रामीण अर्थतन्त्र र जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक गोपाल श्रीसमगरले बताए ।
“समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा वरपर गुराँसे पहाडको टुप्पोमा रहेको बेलढुङ्गा यस क्षेत्रको आकर्षक भ्यूप्वाइन्ट हो”, उनले भने, “संस्कृतिको संरक्षण र प्रकृतिको प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो ।”
उत्सवको अवसरमा दारेडौँडा कान्छो धवलागिरिबाट बेलढुङ्गासम्मको चार किलोमिटर दुई सय मिटर दूरीमा भएको म्यारथुन प्रतियोगिताको उपाधि बेनीका बिराज परियारले जितेका छन् । चौध मिनेट दुई सेकेण्डमा दूरी पार गरेका परियारले नगद रु १५ हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारे ।
चौध मिनेट १२ सेकेण्डमा दूरी पार गरेका ताराखोलाका भीम रोका द्वितीय र १६ मिनेट लगाएका भकिम्लीका अनिल पुन तृतीय हुँदै क्रमशः नगद रु १० हजार र रु पाँच हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको उत्सव आयोजक समितिका सचिव गिरु श्रीसले जानकारी दिए । म्याराथन प्रतियोगितामा आठजनाको सहभागिता थियो ।
यानीमाया गीत प्रतियोगितामा सहभागी मुसुङ र ताराखोला, सोरठी गीतमा सहभागी भकिम्लीका तीनवटा समूहलाई नगद रु पाँच/पाँच हजार प्रदान गरिएको छ ।
सात समूह सहभागी आमा समूह नृत्य प्रतियोगितामा बेनी नगरपालिका-४ को तातोपानी प्रथम, ताराखोलाको खालडाँडा द्वितीय र बेनपा-३ भकिम्लीको सिमखोला आमा समूह तृतीय हुँदै क्रमशः नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयीलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनपा–३ का वडाध्यक्ष पदम पुन र काठेखोला–३ का वडाध्यक्ष कुलबहादुर विकले पुरस्कार वितरण गरेका थिए ।
नयाँ वर्षको दिन भकिम्ली, बरङ्जा, ताराखोला, भिमापोखरा, धम्जा, बेनीबाट ३० हजार भन्दा बढी पर्यटक बेलढुङ्गा पुगेका बेनी–३ का वडाध्यक्ष पुनले जानकारी दिए ।
गुराँसको जङ्गल र बेलढुङ्गाबाट दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकको दिनभर घुइँचो लागेको थियो । नयाँ वर्षको अवसरमा स्वर्गाश्रमबाट बेलढुङ्गासम्म कलशयात्रा पनि गरिएको वडा सदस्य रत्न जिसीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution