बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबारदेखि बागलुङमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।
साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन् । यसअघि सचिव रहेका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत भएका थिए ।
सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन् ।