बागलुङमा हल गोरु पाल्नेलाई अनुदान

बागलुङ । बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ ।

नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि-२०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्न रु. चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हल गोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए ।

सापकोटाका अनुसार नगरपालिका भित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।

“हल गोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार÷पाँच हजारको दरले अनुदान दिइन्छ”, सापकोटाले भने, “यो कार्यक्रम निरन्तर चल्छ, कम्तिमा एक किसानलाई रु. १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।”

आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु. १० हजार पुग्ने गरी रु. १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उप–प्रमुख राजु खड्काले जानकारी दिए ।

उनले मिनि टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महशुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए । गोरु पाल्दा वातावरणीय रुपमा समेत फाइदा हुने उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button