बेनी अस्पतालमा अर्थोपेडिक सेवा

गलेश्वर । म्याग्दीको बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ । अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, पोखरा, नेपालगञ्जलगायत सहरमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

बेनी अस्पतालमा गत शुक्रबारदेखि नियमित सेवामा रहेका डा आचार्यले यसअघि बागलुङ अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियामा सफलता प्राप्त गरेका थिए ।

डा आचार्यले बेनी अस्पतालमा पनि जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण अस्पताल व्यवस्थापन समितिमार्फत व्यवस्थापन गरिने बताए ।

बेनीमा वैशाख २ गते आइतबारदेखि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

“अब हाडजोर्नी तथा नसासम्बन्धी उपचार गर्न टाढा जानु पर्दैन । बेनी अस्पतालमा नै हुन्छ । हामीले जटिल शल्यक्रियाका लागि समेत उपकरण थप्दैछौँ”, उनले भने ।

“यहाँबाट दिन सकिने सबै सेवा उपलब्ध गराउँछौँ । यहाँ गर्न नसक्ने अवस्थाका बिरामीलाई मात्रै रिफर गर्नुपर्छ”, डा आचार्यले भने ।

हाडजोर्नी, नसाको समस्याका साथै हड्डी भाँचिएमा मेटल प्लेट वा पेँच राख्नेलगायतका जटिल समस्याका लागि पनि आवश्यक पूर्वाधार तयार गरी अस्पतालबाटै सेवा दिइने व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भए पनि अर्थोका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको थियो ।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै शारिरीकरुपमा असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेलगायत रोगको उपचारमा सहज हुने समितिका अध्यक्ष सुवेदीले बताए ।

उनका अनुसार अस्पतालमा अन्तरङ्ग र बहिरङ्ग विभागका अतिरिक्त शल्यक्रियामार्फत प्रसूति सेवा, एपेन्डिसाइटिस, हर्नियाको उपचार, दन्त सेवा, आँखा उपचार सेवा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकाली सेवा केन्द्र र डायलाइसिस सेवा उपलब्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button