आज चैते दसैं पर्व मनाइँदै

पोखरा । आज चैते दसैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआरधना गरी चैते दसैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

वसन्तीय नवरात्रको आठौं दिन धूमधामका साथ देशभर चैतेदसैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दसैं हो ।

चैते दसैंमा पनि दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । पोखराको विन्ध्यवासिनी, बागलुङको कालिका भगवतीलगायत देशभरका देवी मन्दिरमा बहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साथै काठमाडौंको हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

चैते दसैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ ।

नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

मध्यकालीन नेपालमा चार किमिसका दसैं धूमधामका साथ मनाउने गरिन्थ्यो । यी दसैंमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढशुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् ।

तर यी सबै दसैंको आआफ्नै विशेषता छन् । यी दसैंमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको छ ।

मध्यकालमा चारवटै दसैं धूमधामका साथ मनाउने गरिन्थ्यो । जसमा शारदीय, ग्रीष्मकालीन, वसन्तीय र शिशिरकालीन नवरात्र हुन् । यसले मध्यकालमा सर्वसाधारणलेसमेत धूमधामका साथ चारवटै दसैं मनाउने गरेको प्रमाण दिन्छ ।

अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदुर्गालाई चढाउने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button